यहि मिति २०७३ फाल्गुन २१ गते तद अनुसार मार्च ४ २०१७ का दिन विश्वभरि वर्ल्ड डाटा डे मनाइएको छ। वर्ल्ड डाटा डे को अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ। यसैक्रममा काठमाडौँ विश्वविद्यालयको कम्प्युटर साइन्स तथा इञ्जिनियरिङ्ग विभागको कम्प्युटर क्लबले पनि डाटा डे लाई काठमाडौँ विश्वविद्यालयको केन्द्रिय क्याम्पस धुलिखेलमा एक कार्यक्रम गरेर भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम काठमाडौँ युनिभर्सिटी कम्प्युटर क्लबको ओपन सोर्स सम्बन्धि कम्युनिटी, काठमाडौँ युनिभर्सिटी ओपन सोर्स कम्युनिटीले गरेको थियो।
यो कार्यक्रमले हरेक वर्ष जस्तै यस वर्ष पनि ओपन डाटाको महत्व र त्यसका बारेमा भईरहेका क्रियाकलापहरुको समीक्षा गरेको थियो। यसका साथसाथै ओपन डाटाको नेपालमा कत्तिको महत्व छ र नेपालमा ओपन डाटाको अवस्था हाल कस्तो रहेको छ भन्ने बारेमा पनि कार्यक्रममा जानकारी दिइएको थियो। कार्यक्रममा कम्प्युटर साइन्सका प्रतित राज गिरिले ओपन डाटा डे र कार्यक्रमको बारेमा जानकारी दिएका थिए। त्यसैगरी कार्यक्रममा काठमाडौँ विश्वविद्यालयकै ऋषि राज गौतमले ओपन डाटा को लागि कसरी योगदान गर्न सकिन्छ भनेर जानकारी दिएका थिए।
काठमाडौँ युनिभर्सिटी ओपन सोर्स कम्युनिटीका संयोजक सन्दिप न्यौपानेले आफुले ओपन डाटाको लागि काभ्रेमा गरेको सर्भे र आफ्नो अनुभब बताएका थिए। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयकै महेश काफ्लेले ओपन डाटामा कसरी लाग्ने र ओपन डाटा ह्याकाथनको बारेमा आफ्नो अनुभब सुनाएका थिए। अन्त्यमा कम्प्युटर साइन्सका सन्जोग सिग्देलले ओपन सोर्स र ओपन डाटाका बारेमा थप जानकारी दिदै ओपन स्ट्रीट म्यापिङ्ग, उबन्टु लोकलाइजेसन र विकिपेडियामा आफुले गरेको योगदानको बारेमा प्रेरक कुराहरु प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा सबै सहभागीले ओपन डाटाका लागि योगदान गर्ने र छिट्टै काठमान्डौ विश्वविद्यालयमा ओपन डाटा सम्बन्धि ह्याकाथन गर्ने निष्कर्ष निकालेको थिए।